आज हामी एउटा बन्द कोठामा बसेर आफु भन्दा टाडा गुडिरहेको गाडी, हिडिरहेको मान्छे वा अरु जुनसुकै कुराको सठीक स्थान पत्ता लगाउन सक्छौं । विश्वको हरेक कुनाको नक्सा, अझ उपग्रहहरुले खिचेका तस्बिरहरु मार्फत वातावरण, प्राकृतिक स्व्रोत साधन, जोखिम र प्रकोपको विश्लेषण गरेर विश्वलाई नै अनुगमन गर्न सक्छौ । एउटै बिन्दुमा उभिएर डाडा-काडा, नदिनाला, ठुला ठुला क्षेत्रहरुको नक्सांकन गरेर पूर्वाधार निर्माणमा प्रयोग गर्न सक्छौ । यी सबै सम्भव पार्ने बिज्ञानको नाम हो जियोमेटिक्स (Geomatics) । जियोमेटिक्स इञ्जिनियरिइंग एक भू-सूचना प्रविधिको विषय हो जसले भौगोलिक डेटाको संकलन, मापन, अनुगमन, प्रस्तुतीकरण र विश्लेषण मार्फत विभिन्न संरचनाहरुको व्यवस्थापन गर्छ। धेरै कमले सुनेको अनि बुझाउन निकै गारो पर्ने यो पेसा विश्वकै एक द्रुत गतिमा बृद्धि भइरहेको छेत्र हो र यसको माग पनि विस्तृत श्रृंखलामा छ ।
जियोमेटिक्स इन्जिनियरिङलाइ सिभिल इन्जिनियरिङ, सूचना प्रविधि, वातावरण र पृथ्वी विज्ञानको सम्मिश्रण पनि मानिन्छ।
नेपालको परिवेशमा सर्भे इन्जिनियरिंग भनेर पनि चिनिन्छ । कुनै पनि भौतिक पुर्वाधारको निर्माण कार्यमा यस इन्जिनियरिङले उक्त भौगोलिक स्थलको सर्भेक्षण र अध्ययन गरी सो परियोजनामा अनुकूलता प्रदान गर्दछ। जियोमेटिक्स इन्जिनियरले सडक, पुल, सुरुंग, उद्योग निर्माणदेखि हाइड्रोपावर वा कुनै पनि भौतिक पूर्वाधार निर्माणको लागि निर्माण स्थलको सर्भे गर्छन् । सर्वेक्षणबाट आएको डेटाले नक्सा बनाएरा सिभिल र आर्किटेक्टलाइ डिजाइन गर्न दिन्छन्। जियोमेटिक्स इन्जिनियरहरू सर्वेक्षण प्रविधि, मापन विज्ञान, अत्याधुनिक सर्भे उपकरण, कम्प्युटर सफ्टवेयर र प्रोग्रामिङ मा पोख्त हुन्छन् । सर्वेक्षण (Surveying), नक्सांकन (Mapping), मापन विज्ञान (Measurement Science), भौगोलिक सूचना प्रविधि (GeoIT), GIS, जियोडेसि (Geodesy), फोटोग्रामेट्री (Photogrammetry), रिमोट सेन्सिङ (Remote Sensing), GPS/GNSS, Satellite Navigation, भूमि व्यवस्थापन (Land Management), भू-उपयोग आयोजना, वातावरणीय अनुगमन, सहरी विकास आयोजना आदि, जियोमेटिक्स इन्जिनियरिङको मुख्य क्षेत्रहरू हुन् । यस पेसामा कार्यरत इन्जिनियरहरूले जिपीएस (GPS), ‘जिआइएस’(GIS), थियोडोलाइट (Theodolite), Total Station, DGPS, ड्रोन (Drone), LiDAR, जस्ता अत्याधुनिक उपकरणहरूको प्रयोग गर्दै सर्वेक्षण गर्छन् । अफिसमै बसेर काम गर्नेहरु GIS, Computer Programming, Software, Web Mapping, Remote Sensing, Geospatial Analysis आदि मा बिज्ञ हुन्छन ।
जियोमेटिक्स क्षेत्रको सम्भावना विश्वको विकसित राष्ट्र अमेरिकाले समेत जियोमेटिक्स पेसालाइ आफ्नो देशको सबैभन्दा द्रुत गतिमा वृद्धि भइरहेको र माग पनि तेतिनै बढिरहेको सुचिमा राखेको छ । नेपाल जस्तो विकास उन्मुख राष्ट्रमा यसले निकै ठूलो सम्भावना बोकेको छ । ग्रामीण र सहरी क्षेत्रमा दिगो विकास, वातावरण संरक्षण, विपत्ति न्यूनीकरणको राष्ट्रिय आकांक्षालाई सकारा पार्ने एक विकल्प जियोमेटिक्स इन्जिनियरिङ पनि हो । नेपालमा सरकारी, गैरसरकारी/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, हाइड्रोपावर, नेपाल विद्युत् प्राधिकरण, नेपाल आर्मी/पुलिस, निर्माण कम्पनी, परामर्श प्रदायक संस्था, लगायत कृषि, बन, खानी, वातावरण, प्राकृतिक सम्पदा व्यवस्थापनदेखि पूर्वाधार र संरचना व्यवस्थापनसँग सम्बन्धित थुप्रै संस्थाहरूमा अवसरहरु छन् । यसको साथै नेपाल भन्दा बाहिर हेर्ने हो भने त पृथ्वीको हरेक कणको अनुगमन र विश्लेषण देखि लिएर अन्तरिक्ष अन्वेषणहरु मा थुप्रै अनुसन्धान गरेको पाइन्छ । नेपालमा भने नामले भन्दा पनि कामले बडी चिनिने यस पेसाको उत्थान र प्रोत्साहन अझै जरुरि देखिन्छ । यसको विविध क्षेत्रहरुको अनुसन्धान केन्द्रको स्थापना गरेर नवीनतम प्रविधिको खोज र अन्वेषण गर्न सरकारी निकाय तथा यस पेसा प्रेमी सरोकारवाला हरुले ध्यानाकर्षण गर्न जरुरि छ ।